रिपोर्टर – नेपाल न्युज लिंक
२४ असोज,२०७९
राष्ट्रिय आविष्कार केन्द्रमा सोमबार देखि जीआईएस र रिमोट सेन्सिङ सम्बन्धि तालिम सुरू गरेको छ । ४५ दिनसम्म सञ्चालन हुने तालिम आविष्कार केन्द्रको हाई टेक ल्याबमा हुने जनाइएको छ।
आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनका अनुसार तालिम हरेक सोमबार र बुधबार बिहान १०.00 बजेदेखि १२.00 बजेसम्म सञ्चालन हुनेछ ।
यो तालिम परिचयात्मक तहको तालिम भएको र तालिममा सहभागी हुन केन्द्रले यसअघि आवेदन मागेको थियो, जसमा १ हजार ४६९ जनाले गूगल फाराम भरेर आवेदन दिएका थिए । प्राप्त आवेदन मध्येबाट केन्द्रले ३० जनाको नाम छनोट गरेको छ । उक्त ३० जना भौतिक रूपमा आविष्कार केन्द्रमा आएर तालिम लिनेछन् । पुनका अनुसार मिटिङ हलको क्षमता ३० जनाको भएकाले ३० जनाको नाम छनोट गरी इमेल पठाइएको थियो ।बाँकीलाई अनलाइनबाटै तालिममा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ ।
तालिम राजेश पौड्याल र डा. महेश पुनले दिनेछन् । उनीहरुले आफ्नो फुर्सदको समयलाई सदुपयोग गरेर यो तालिम निःशुल्क दिन लागेको पनि जनाइएको छ।
