image Nepal Railway Company

धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित छन् । रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खुशीयाली छाएको कुरा आजको इकान्तिपुर ले लेखेको छ।
रेल्वे लिकको काम सकिएको लामो समयसम्म पनि रेल सेवा सञ्चालन हुन नसकेका कारण निरास बनेका स्थानीयवासीमा अबको केही दिनमै रेल चल्ने पछिल्लो खबरले उत्साहित बनाएको धनुषाको औरही गाउँपालिका–६ का विशोलाल यादवले बताए । “रेल्वे लिक बनेको धेरै समय भइसक्यो, रेल आज चल्छ, भोलि चल्छ भन्दै निरास भएर बसिरहेका छौँ”, उनले भने “तर केही दिनअघि नेपाल रेल्वे कम्पनीले रेलको परीक्षण गरेको देखेपछि रेल चल्ने आशा जागेको छ ।” सुरुमा त रेल चल्छ भन्ने विश्वासै लागेको थिएन, तर लिकमा रेल गुडेको देखेपछि आशा पलाएको उनको भनाइ छ ।
रेल्वे लिक बनाउन आफ्नो बहुमूल्य जग्गा दिएका धनुषाको जनकनन्दनी गाउँपालिकाका रमेश मण्डलले पनि रेल चल्ने भएपछि उत्साहित भएको बताए । “रेल्वे लिक बनेपछि रेल चल्छ र त्यो रेलमा चढ्न पाइन्छ भनेर आफ्नो बहुमूल्य जग्गा दिइयो”, मण्डलले भने, “धेरै समयसम्म रेल नचलेपछि निरास थिएँ, तर पछिल्लो समय रेल चल्ने खबर आएपछि खुसी लागेको छ ।”

image Nepal Railway Company

वि.सं. २०७७ असोज २ गते भारतीय कम्पनी कर्पाेरेशनबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको दुई सेट रेल बडो तामझामका साथ जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म करिब ३५ किलोमिटर चल्ने सो रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । ‘‘हामीले सन् २०२२ को फेब्रुअरी तेस्रो साताबाट जयनगर–कुर्था रेल सेवा सञ्चालन गर्ने तयारी गरेका छौँ”, नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले भने “रेल चलाउन अब कुनै समस्या छैन, केवल उद्घाटन हुनमात्र बाँकी छ ।” दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रेल सेवाको उद्घाटन गरेपछि नियमितरूपमा रेल सञ्चालन हुने महाप्रबन्धक झाको भनाइ छ ।
“कुन मितिबाट रेल चल्छ भन्ने ठ्याक्कै म अहिले भन्न सक्दिनँ”, महाप्रबन्धक झाले भने ‘‘ तर हामीले फेब्रुअरीको दोस्रो वा तेस्रो साताबाट रेल चलाउने तयारी गरेका छौँ ।” अहिले न्यूनतम आवश्यकताका आधारमा मात्र थोरै कर्मचारी नियुक्त गरेको र नियुक्त भएका कर्मचारीलाई तालिम दिएर काममा परिचालन गरिसकेको उनको भनाइ छ ।

“रेल उद्घाटनपछि सुरुको पहिलो १५ दिन दिनको एकपटक आउने र जाने गरी रेल चलाउँछौँ”, महाप्रबन्धक झाले भने ‘त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा दुई–तीनपटकसम्म पनि रेल चलाउन सकिन्छ ।” रेल चलेपछि तत्कालका लागि जयनगरबाट कुर्थासम्म समान्य सिटमा ७० रुपैयाँ र एसी सिटमा ३०० सय रुपैयाँ भाडा निर्धारण गरिएको उनले बताए ।

रेल सेवा सञ्चालन गर्ने तयारी गरिए पनि रेल्वे लिकमा रहेका क्लिपहरु चोरी भइरहेको र ठाउँठाउँमा रेल्वे लिकमै तरकारी हाटबजार लगाउने गरेको, रेल्वे लिकमै अनधिकृतरूपमा छाप्रो हालेर पसल चलाउँदै आएको र छाडारूपमा पशु चौपाया छाड्ने गरेकाले रेल सञ्चालनमा कठिनाइ भइरहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने महाप्रबन्धक झाले बताएको कुरा रासस लाई उधृत गर्दै आजको कान्तिपुरले लेखेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *