रिपोर्टर – नेपाल न्युज लिंक
१९ कार्तिक,२०८०
जाजरकोट भूकम्प सम्बन्धमा सरकारले उद्धार तथा तत्कालको राहत सम्बन्धमा आज बसेको मन्त्रिपरिषद्को बैठकले केही निर्णयहरु गरेको छ ।
बैठकका निर्णयहरुमा खोज, उद्धार, तत्काल राहत र घाइतेहरुको निःशुल्क उपचारमा प्राथमिकता दिने । साथै, भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने , मृतक परिवारलाई तत्काल दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेलाई धन्यवाद दिंदै सहयोगका लागि अपिल गर्ने, भूकम्पबाट क्षति भएका सडक, सञ्चारलगायतका संरचना तत्काल सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले गर्ने, क्षतिग्रस्त क्षेत्रको पुनःनिर्माणलाई एकीकृत कार्ययोजना बनाई अघि बढाउने, राहत तथा उद्धारमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई नियमाअनुसार दैनिक खाना खाजा खर्च उपलब्ध गराउने, भूकम्पबाट आवास क्षति भएका परिवारलालाई अस्थायी बसोबासको लागि टहराहरु निर्माण गर्ने,भूकम्पबाट प्रभावित व्यक्तिहरुको सरकारी स्वास्थ्य संस्थाहरुले निःशुल्क उपचारको व्यवस्था गर्ने जस्ता निर्णय रहेका छन् ।
गत कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भै गएको ६.४ रेक्टर स्केलको भूकम्प बाटअहिलेसम्म १५७ जनाको शब प्राप्त भैसकेको छ भने ३७५ जना घाइते रहेका छन्। एघार जिल्ला प्रभावित रहेको जनाइएको उक्त भूकम्पको उद्दार कार्य जारी रहेको छ। घटना सम्बन्धमा विश्वभरवाट दुःख ब्यक्त भएको छ।
